काठमाडौं, भदौ २७ – सरकारले म्यानपावर कम्पनीको धरौटी रकम वृद्धि गरेको विरोधमा म्यानपावर व्यवसायीले आन्दोलन थालेका छन् । विरोधको पहिलो दिन मंगलबार वैदेशिक रोजगार विभागको कार्यालयमा धर्ना दिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिनुभयो ।
सरकारले म्यानपावर कम्पनीको धरौटी रकम एक करोड रुपैयाँ पुर्याउने निर्णय गर्दै ऐन संशोधनको अन्तिम ड्राफ्ट तयार गरेपछि म्यानपावरले आन्दोलन थालेका हुन् ।
सोमबार बिहानै श्रम तथा रोजगार मन्त्रालय पुगेर धरौटी रकम नबढाउन व्यवसायीले माग गरेका थिए । तर मन्त्रालय धरौटी रकम बढाउने निर्णयबाट पछि नहटेपछि व्यवासायी आन्दोलनमा उत्रिएका हुन् । पहिलो चरणमा सांकेतिक विरोध गर्ने तर धरौटी रकम ३० लाख रुपैयाँ नै कायम नगरे थप कडा कार्यक्रम अघि सार्ने अध्यक्ष गुरुङले बताउनुभयो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले भने म्यानपावर कम्पनीले भन्दैमा धरौटी रकम नघट्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म्यानपावर कम्पनीका ठगी कार्य बढेका कारण पीडितलाई क्षतिपूर्ति दिलाउन र म्यानपावरलाई व्यवस्थित गर्न धरौटी रकम बढाउनु परेको हो ।’ तर अध्यक्ष गुरुङले धरौटी रकम बढाउँदैमा समस्या समाधान नहुने जिकिर गर्नुभयो ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार म्यानपावरको धरौटी नगद ७ लाख र २३ लाखको बैंक ग्यारेन्टि गरि ३० लाख भएपनि ऐन संशोधन गर्दै सरकारले एक करोड रुपैयाँ पुर्याउने तयारी गरेको हो ।