२८ भदौ, काठमाडौं । राजनीतिले थिलोथिलो परेको शैक्षिक संस्थाको नाम लिनुपर्यो भने सबैभन्दा पहिले कुनै नाम आउँछ भने त्रिभुवन विश्वविद्यालयको नाम आउँछ । देशको सबैभन्दा पुरानो विश्वविद्यालयमा चरम राजनीतिकरण भएपछि त्यहाँबाट उत्पादन हुने जनशक्तिको राजनीतिक सोच कस्तो बन्ला ?
त्यसो त स्थानीय निकाय निर्वाचनमा अन्तर्घात गरेको अभियोगमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियामाथि नै नेपाली काँग्रेसले स्पष्टीकरण लिनेगरी अनुशासनको डण्डा चलाएपछि चरम राजनीतिक हस्तक्षेपको पटाक्षेप समेत भैसकेको छ ।
राजनीतिकरणको भद्दा र कुरुप रुपको प्रहसनकै कारण त्रिवि अस्तव्यस्त बन्दै गएको छ । त्रिविका प्रत्येक पद र विभागमा नियुक्ति गर्दा राजनीतिक वात लागेका पात्रहरुको खोजी मात्र गरिँदा विश्वविद्यालयको दैनिक प्रशासनिक काम प्रभावित हुनेगरेको छ ।
राजनीतिक भागबन्डा नमिलेकै कारण त्रिभूवन विश्वविद्यालयको सेवा आयोगमा ३ महिनादेखि रिक्त सदस्यको पदपूर्ति भएको छैन । सदस्यको अभावमा कर्मचारी शिक्षकको वृत्तिविकासदेखि नयाँ कर्मचारी भर्ना र लिखित परीक्षा पास गरेका शिक्षकहरुको अन्र्तवार्ता समेत रोकिएको छ ।
त्रिवि सेवा आयोग सदस्यको पद गत असार ३ गतेदेखि रिक्त भएको थियो । तर अझैपनि सदस्य नियुक्त हुन सकेका छैन् । यसको एकमात्र कारण रिक्त पदमा कुन चाहीँ राजनीतिक दलाललाई भर्ति गर्ने भन्ने नै हो । यसैकारण त्रिभुवन विश्वविद्यालयको सहकुलपति समेत रहेका शिक्षामन्त्री गोपालमान श्रेष्ठले सेवा आयोगको सदस्यको नाम प्रधानमन्त्री शेरबहादुर देउवा समक्षा सिफारिस गर्न सकेका छैनन् । परिणाम विश्वविद्यलायको महत्वपूर्ण निकाय सदस्य अभावमा अपांग बनेको छ ।
यसको प्रत्यक्ष प्रभाव शिक्षक, कर्मचारीको बढुवा, नियुक्ति आदिमा परेको छ । त्रिवि सेवा आयोग अध्यक्ष चैतन्य शर्मा सदस्य सचिवको नियुक्ति नहुँदा कर्मचारीको परीक्षा तथा बढुवा, शिक्षक नियुक्ति, शिक्षकको परीक्षा लगायतका काम रोकिएको बताउँछन् । शिक्षामन्त्री समेत रहेका सहकुलपतिलाई भेटेर लिखित पत्र पनि दिएको उनको भनाइ छ । उनी भन्छन्–‘धेरै काम रोकिएका छन्, के कारणले अझै सिफारिस नगर्नुभएको हो, कारण थाहा भएन, यो विषयमा उहाँहरु सिरियस हुनुपर्ने हो ।’
आयोगमा सदस्य नियुक्त नभएका कारण सेवा प्रवेशका लागि अयोगको परीक्षा दिइसकेको सयौं उपप्राध्यापक तथा इन्जिनियरहरुको महिनौं अघि भइसक्ने अन्तर्वार्ता अझै हुन नसकेको भन्दै गुनासो गरेका छन् । आयोगको परीक्षा उत्तीर्ण गरेका गणित, अंगे्रजी, विषयका उपप्रध्यापकहरु आयोगको सदस्य कहिले नियुक्त होला र अन्तर्वार्ता दिन जाउँला भनी दिन गनिरहेको एक शिक्षकले गुनासो गरे ।
कार्यालयको कामकाजसमेत ठप्प भएपछि विश्वविद्यालय भित्र प्राध्यापकहरुको गुनासो चर्किदै गएको छ । राजनीतिक भागबन्डा को विवादले ग्रस्त बन्दै गएको सरकारी लगानीको त्रिविमा सदस्यकै अभावमा इन्जिनियरिङ विषयहरुको लिखित परीक्षा भएको ८ महिना हँुदा पनि परीक्षाफल निकालिएको छैन ।
कर्मचारी भर्नाका लागि विभिन्न पदमा विज्ञापन खोलिए पनि अझै लिखित परीक्षा हुन नसकेको उपप्राध्यापक परीक्षाबाट भखरै उत्तीर्ण भएको एक गणित शिक्षकले बताए ।
समयमा पद पूर्ति नहुँदा अधिकांश शिक्षकहरुको बढुवा समेत रोकिएको छ भने बढुवा बिनै अवकाश हुन पर्ने अवस्था सिर्जना भएको सेवारत कर्मचारी तथा प्राध्यापकहरुको गुनासो बढेको छ ।
त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सहकुलपति शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा सिनेटका २ जना सदस्य रहने समितिले सिफारिस गरेको ३ जना मध्ये एकजना नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।
सिफारिस समिति बनेको महिनौं भइसक्दा पनि सदस्य सचिव नियुक्तिका लागि सिफारिस गर्ने काम नभएपछि त्रिवि प्राध्यापकहरुले समितिमाथि नै योग्यताको प्रश्न उठाएका छन् ।
सदस्य सचिव नहुँदा सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका, बढुवा हुन बाँकी रहेका सबै गरी हजारौंलाई प्रभाव पारेको प्राध्यापकहरुको गुनासो छ ।
प्राध्यापकहरुले कुलपति तथा सहकुलपति नै जिम्मेवार नबनेको भन्दै प्रधानमन्त्री तथा शिक्षामन्त्रीको आलोचना गरिरहेका छन् । एक जना प्रध्यापकले भने, ‘त्रिविप्रति कुलपति रहेका प्रधानमन्त्री नै जिम्मेवार छैनन् भने मुलुकको कसरी उन्नति होला? जिम्मेवार व्यक्ति मूकदर्शक बनेको हो कि राजनीतिक स्वार्थको केन्द्र त्रिविलाई बनाइएको हो बुझ्नै सकिएन !’
उनले सदस्यको अभावमा नियमित विज्ञापन, परीक्षाका तथा अन्तर्वार्ता सबै काम अवरुद्ध भएको बताए । समयमा नियुक्ति नगरिदा सेवा आयोग अपांग बनेको उनीहरुको आरोप छ ।
राजनीतिक भागवण्डाको खिचातानीले नियुक्ति प्रभाव पार्न खोजिएको प्राध्यापकहरु बताउँछन् ।
प्रत्येक वर्ष खुल्नुपर्ने सेवा आयोगको विज्ञापन झण्डै १० वर्षको अन्तरालमा विज्ञापन गर्ने र विभिन्न कारणले गर्दा सेवाआयोग समयमा काम गर्न नसक्ने भएको छ ।