गुल्मीको तम्घास रिडी सडकको सुख्खा पहिरो पन्छाउन पाल्पाबाट ठूलो मेसिन पठाइएको छ । जिल्लामा भएको सानो मेसिनले पहिरो पन्छाउन ढिलाइ हुने भएकाले पाल्पाबाट ठूलो मेसिन मगाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए ।
‘सडक खुलाउन ठूलो स्काभेटर जेसिभी मेसिन आवश्यक परेकाले पाल्पा सडक डिभिजनसँग समन्वयमा मेसिन ल्याउने तयारी छ,’ अर्यालले भने, ‘पहिरो हटाउन साना मेसिनले सक्ने भएन ।’
रेसुंगा नगरपालिका १३ स्थित भंगारीमा बुधवार साँझपख खसेको सुख्खा पहिरोले अवरुद्ध भएको सडक खुल्न नसक्दा यात्रुहरु अलपत्र परेका छन् । दशैं मान्न जिल्ला आएकाहरु जोखिमपूर्ण तरिकाले आधा घण्टा लामो उकालो बाटो हिँडेर सिमीचौर, रिडी खज्याङ, सिमीचौर हुँदै तम्घास पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् ।
दशैं भित्रिएकाले मेसिन र ड्राइभर समेत पाउन मुस्किल परेकाले पनि तुरुन्तै सडक खुल्ने सम्भावना देखिएको छैन ।
सोमबार बिहानदेखि नै पहिरो खस्न थाले पनि पन्छाएर एकतर्फी भए पनि खुलाउने गरिएको थियो तर, बुधबार ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भएको छ ।
सडक बन्द भएसँगै तम्घासबाट रिडी, पाल्पा, बुटवल, काठमाडौं लगायतका स्थानसम्म आवतजावत बन्द भएको छ ।
सदरमुकाम तम्घाससँगै दशैं मनाउन घर फर्किएका सयौं यात्रुहरु तथा सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख डोरबहादुर थापाले सिमीचौर रिडी खज्याङ सिमीचौर हुँदै तम्घासको वैकल्पिक मार्ग रोज्न यात्रुहरुलाई आग्रह गरेका छन् । उनी एक हप्तादेखि त्यहिँ सुत्ने बस्ने गरी खटेका छन् ।