गुल्मी । विगतमा चाडपर्वका बेला प्रशासनले बजार अनुगमन गरेर मूल्य र गुणस्तर नियन्त्रणमा ल्याउँथ्यो । यस वर्ष भने अनुगमन नै नगरी कर्मचारीहरु दशैं मान्न घरतिर लागेका छन् ।
चाडपर्वमा बजारमा कारोबार उकालो लाग्छ । यही समयमा उपभोक्ता ठगिने जोखिम पनि हुने गर्छ । विगतमा प्रशासनले उपभोक्ता ठगिन नदिन बजार अनुगमन गर्ने गर्थ्यो ।
कालोबजारीका साथमा म्याद सकिएका सामान पनि व्यापारीले यही बेलामा बिक्री गर्ने गरेका छन् । प्रशासनिक अनुगमन हुन नसके पनि व्यवसायीहरुलाई कम नाफा राखेर गुणस्तरीय सामान मात्र बिक्री गर्न आग्रह गरिएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए ।
मूल्यसूचीअनुसार सामान बिक्री गर्न तथा त्यस क्रममा म्याद सकिएका सामान उपभोक्तालाई नथमाउन आग्रह गरिएको उनको भनाइ छ ।