मंसिर १९, २०७४
रुपन्देहीमा मंसिर २१ गते बिहिबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको अन्तर्गत दोश्रो चरणको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले निर्वाचन सम्बन्धि तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । रुपन्देहीमा प्रतिनिधिसभा सदस्यका लागि ५ वटा र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र रहेका छन् ।
मतदान प्रक्रियाको लागी खटिने कर्मचारीहरुलाई निर्वाचन अधिकृतको कार्यालयले नियुक्तिपत्र र बाटो खर्च दिएर सम्बन्धित मतदान केन्द्रमा खटाएको छ ।
जिल्लामा ५ सय ९८ मतदान केन्द्र कायम गरिएको छ भने २ सय ८ मतदान स्थल छन् ।
५ लाख २२ हजार ६ सय २ मतदाता रहेको रुपन्देहीका हरेक मतदान केन्द्रमा ८ जनाको दरले कर्मचारी खटाईएको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अयोध्या भण्डारीले नागरिक आवाजलाइ जानकारी दिए ।
जसमा २ लाख ५८ हजार ७ सय ८३ जना पुरुष, २ लाख ६३ हजार ८ सय १३ जना महिला र ८३ जना तेस्रोलिङी रहेका छन् । ‘हामी लगभग तयारी सकेका छौं,केहि मतदानस्थलमा बांकी रहेको तयारीका काम हुदैछन् ’भण्डारीले भने ।
निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत एवं सहयोगी गरि ४ हजार ७ सय ८४ जना कर्मचारी खटाईएको भण्डारीले बताए । यी कर्मचारीहरुलाई निर्वाचन सामाग्री र मतपत्र दिई सुरक्षा सहित सम्बन्धित क्षेत्रमा पुगिसकेका छन् ।
४५ मतदान स्थल रहेको रुपन्देही क्षेत्र न १ मा १२७ मतदान केन्द्र छन् । २ मा २४ मतदान स्थल ,मतदान केन्द्र ११२, क्षेत्र न ३ मा ४६ मतदान स्थल , १२४ मतदान केन्द्र्र , क्षेत्रन ४ मा ४८ मतदान स्थल,१११ मतदान केन्द्र र क्षेत्र न ५ मा ४५ मतदान स्थल र १२४ मतदान केन्द्र रहेका छन् ।