बुटवल, २८ मंसिर । नेपाल पत्रकार महासंघ, रुपन्देहीले कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई बिनाकारण प्रहरीले हिरासतमा राखेको भन्दै तुरुन्त रिहाईको माग गर्दै विहिबार जिल्ला प्रशासन कार्यालय भैरहवामा धर्ना दिएको छ ।
विहान साँढे ११ बजेदेखि साँढे १२ बजेसम्म एक घन्टा पत्रकार महासंघका सल्लाहाकार, पूर्व अध्यक्ष, कार्यसमिति, विभिन्न पत्रकार सम्बद्ध पत्रकार संगठनका अध्यक्ष र पत्रकारहरुको उपस्थितीमा धर्ना कार्यक्रम गरिएको हो । प्रतिनिधि र प्रदेशसभा सदस्य सनिर्वाचन अघि मंसिर ४ गते पत्रकार डुम्रेलाई राजनितिक आस्थाका आधारमा प्रहरीले पक्राउ गरेको भएपनि अहिले विष्फोटक पदार्थको मुद्धा लगाएर नियोजित रुपमा फसाउन खोजेको पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसीले बताउनुभयो ।
जिल्ला प्रशासन अघि धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जिसिले डुम्रेलाई गैरकानुनी रुपमा हिरासतमा राखेको बताउँदै सरकारले प्रेस स्वतन्त्रा हनन गरेको बताउनुभयो । उहाँले पटक पटकको आग्रहमा चुनावपछि पत्रकार डुम्रेलाई रिहाई गर्ने आश्वासन दिएपनि प्रहरी प्रशासनले झुटा मुद्धा लगाएर फसाउन खोजेकाले त्यो झुटा मुद्धा खारेज गर्न माग गर्नुभयो ।
धर्नाअघि पत्रकार महासंघको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीलाई भेटेर पत्रकारलाई झुटा मुद्धा लगाएर फसाउन खोजिएकाले तुरुन्त रिहाई गर्न माग गरेको थियो । पत्रकार डुम्रे बुटवलबाट प्रकाशित गर्जनपोष्ट साप्ताहिकका सम्पादक तथा क्रािन्तकारी पत्रकार संगठन रुपन्देहीका अध्यक्ष हुन । अहिले इलाका प्रहरी कार्यालय बुटवलमा अनुसन्धानका लागि भन्दै प्रहरीले हिरासतमा राखेको छ ।