भक्तपुर, माघ १२ – आउदो चैत ८ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईका लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन सुरु गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका र अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालेको जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परिक्षाका सबै सामाग्री जिल्ला जिल्ला मा पठाउन सुरु गरिएको जानकारी दिनुभयो ।
परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उहाँले प्रश्न पत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगेको जानकारी दिनुभयो । केन्द्रले यसवर्ष करिब दुई हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले यस वर्ष परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी भएको जनाएको छ ।
माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ । परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर विषयगत नमूना प्रश्नपत्र बनाएर कार्यालयको वेभसाइटमा राखिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो ।
विद्यार्थीले कार्यालयको वेभसाइडमा गएर प्रश्नपत्रको नमूना हेर्न सकिने रेग्मीले बताउनुभयो ।
एसइई परीक्षा साधारणधारको १७ चैतमा र प्राविधिक धारको २० चैतमा सम्पन्न हुने कार्यतालिका छ ।