१७ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्था छ, सेयर आवेदन दिने हरेकलाई कम्तिमा १० कित्ता अनिवार्य दिनुपर्ने । शुरुमा केही आलोचना भए पनि यो नियम केही महिनायता कार्यान्वयनमा छ ।
गत १७ माघदेखि बुटवल पावर कम्पनीले एफपीओ (फर्दर पब्लिक अफरिङ) अर्थात् नयाँ सेयर निष्कासन गरेको छ ।
कम्पनीले ४० लाख ८१ हजार कित्ता सेयर बिक्री गर्दैछ । र, चार सय एक रुपैयाँ प्रिमियम दरसहित प्रतिकित्ता सेयर मूल्य पाँच सय एक रुपैयाँ तोकेको छ ।
उक्त कम्पनीको सेयरमा छिटोमा १९ माघ र ढिलोमा १५ फागुनसम्म बिक्री खुला हुनेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल छ ।
कम्पनीको सेयरमा १० देखि २० हजार चार सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
न्यूनतम १० कित्ता उपलब्ध गराउनुपर्ने व्यवस्थाका कारण उक्त कम्पनीको सेयरमा आवेदन दिँदा ध्यान पुर्याउन जरुरी छ ।
पछिल्ला दिनमा एफपीओमा लगानीकर्ताहरुबाट परेको आवेदन संख्या हेरौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५ लाख कित्ता एफपीओ जारी गर्दा दुई लाख १७ हजार जनाको आवेदन आयो । प्रिमियर इन्स्योरेन्सको ६ लाख ५९ हजार कित्ता एफपीओमा एक लाख ३३ हजारले आवेदन दिए ।
यस्तै, नौ लाख ८३ हजार कित्ता एफपीओ जारी गरेको पोखरा फाइनान्समा ४९ हजारले आवेदन दिएका थिए ।
यस आधारमा औसतमा डेढ लाख जनाले एफपीओमा आवेदन दिने गरेको देखिन्छ ।
यदि बुटवल पावरमा डेढ लाखले मात्रै सेयर माग गरे भने प्रतिव्यक्ति ३० कित्ता सेयर पाउन मुस्किल देखिन्छ । धितोपत्र बोर्डको नियम पालना गर्दा १५ लाख कित्ता अनिवार्य छुट्याउनु पर्छ । त्यसपछि बाँकी हुन्छ, करिब २५ लाख ८० हजार कित्ता ।
एक सेयर बिक्री प्रबन्धकको भनाइमा यसअघिका उदाहरणहरु विश्लेषण गर्दा बाँकी रहने सेयर पनि सम्भव भएसम्म समानुपातिक रुपमा सबैलाई वितरण गर्नुपर्छ ।
उक्त कम्पनीको सेयरमा दुई लाखसम्म आवेदक निस्किए भने जनही २० कित्ता पाउने अवस्था बन्छ ।
यसअघिसम्म जति बढी रकमको आवेदन पर्यो, त्यति कम सेयर पर्ने सम्भावना रहन्थ्यो । अहिले भने जति बढी लगानीकर्ताले आवेदन दिए, त्यति कम सेयर पाइने सम्भावना हुन्छ ।
हुन त, धितोपत्र बोर्डले धेरैलाई धेरै कित्ता पर्ने वातावरण निर्माण गर्ने उद्देश्यले सेयर निष्कासनमा संस्थागत सहभागितामा रोक लगाएको छ । प्राकृतिक व्यक्तिहरुको सहभागिता कम र सबै सेयर बिक्री नभएमा मात्रै संस्थाहरुले बिक्री गर्न पाउने व्यवस्था छ ।
बुटवल पावरको एफपीओको कुरा गर्दा आवेदन दिँदा धेरै रकम नफसाउनु नै राम्रो हो । आवेदन दिने/नदिने निर्णय भने लगानीकर्तामै निर्भर रहन्छ । कम्पनीको दोस्रो बजारमा हाल ६ सय ३३ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, क्रेडिट रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ले उक्त कम्पनीको सेयरलाई ‘ग्रेड-थ्री’मा राखेको छ । यसको अर्थ बुटवल पावरको आधारभूत पक्ष औसत छ ।
यस्तो छ इक्राको रेटिङ
सकारात्मक पक्ष
१. कुल २१.४ मेगावाटका दुई आयोजना सञ्चालनमा (९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक)
२. ३७.६ मेगावाटको काबेली-ए हाइड्रो र ३० मेगावाटको न्यादी हाइड्रो निर्माणाधीन
३. हिमाल पावर लिमिटेडबाट प्राप्त लाभांशका कारण स्थिर आम्दानी कायम गर्न सक्षम
४. चार वर्षयता कर्जा भुक्तानीमा उल्लेख्य प्रगति, वित्तीय सहजता
५. सन् २०१६ सम्ममा आँधीखोला र झिमरुकबाट सम्झौता भएको ‘प्लान्ट लोड फ्याक्टर’भन्दा बढी विद्युत् उत्पादन
नकारात्मक पक्ष
१. ५० हजारभन्दा बढी ग्राहकका लागि आफैंले विद्युत् वितरण सञ्जाल सञ्चालन तर त्यसबाट नाफा हुन नसकिरहेको
२. खिम्ति आयोजनामा ५० प्रतिशत लगानी रहेको हिमाल पावरबाट कम्पनीले पाउँदै आएको लाभांश सन् २०२१ देखि गुम्ने र सरकारमा जाने