बुटवल, ५ फागुन– प्रदेश नम्बर ५ को सरकारले विगत १० वर्षदेखि बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा मन्त्रालयका भवन राख्ने तयारी थालेको छ । प्रदेशकै गहनाको रूपमा रहेको कारखानालाई मासेर प्रदेश सरकार मन्त्रालय व्यवस्थापनमा लागेको भन्दै कतिपयले यसको विरोध गरेका छन् ।
तत्कालका लागि अस्थायी रूपमा मन्त्रालय व्यवस्थापन गर्ने बताइए पनि प्रदेश सरकार बन्द उद्योगमा मन्त्रालयका नयाँ संरचनाहरू निर्माण गर्ने मनस्थितिमा पुगेको बताइएको छ । धागो कारखानालाई बन्द गरेर मन्त्रालय बनाउन नहुने भन्दै यस क्षेत्रमा उद्योगीहरूले विरोध गरेका छन् । केही दिन अगाडि बुटवल माध्यामिक विद्यालयलाई पनि मन्त्रालय राख्ने भन्दै मुख्यमन्त्री शंकर पोखरेल र प्रतिनिधिसभा सदस्य विष्णु पौडेललगायतको टोलीले निरीक्षण गरेको थियो ।
बुटवल–१० रामनगरमा रहेको धागो कारखानाको प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेल नेतृत्वको टोलीले अवलोकन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले मन्त्रालय राख्नका लागि भवनहरू उपयुक्त छन् कि छैनन् भन्ने अध्ययन गर्न प्राविधिक टिम गठन गर्न लागिएको जानकारी दिए ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका चौधरीले भने, ‘उद्योग बन्द छ । जग्गा फराकिलो पनि देखियो । कारखानालाई मन्त्रालयमा रूपान्तरण गर्न हामीले प्राविधिक टोली खटाउँछौं । त्यसैको प्रतिवेदन अनुसार हामी अगाडि बढ्छौं ,’ अवलोकनपछि सञ्चारकर्मीहरूसँग प्रवक्ता चौधरीले भने । उनले अगाडि थपे, ‘कम्तीमा पनि हामीहरूले यहाँ ४ वटा मन्त्रालय राख्ने सोंच बनाएका छौं ।’ धागो कारखाना ११ विगाहा क्षेत्रफलमा फैलिएको छ । अहिले धागो कारखानामा दंगा नियन्त्रण प्रहरी बसेको छ ।
कारखानामा मन्त्रालय राख्न नहुने भन्दै यहाँका उद्योगीहरूले त्यसको बिरोध गरेका छन् । रूपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले यस क्षेत्रकै गहनाको रूपमा रहेको उद्योगलाई धागो कारखानाकै रूपमा सञ्चालन गरिनुपर्ने बताए । उनले भने, ‘राज्यका धेरै उद्योगहरू धरासायी बनेर बन्द भए । अब प्रदेश सरकार बनेको छ । बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्छ । यसैलाई मास्ने गरी मन्त्रालय बनाउन हुँदैन ।’ केही नयाँ उपकरणहरू थप गरेर उद्योग सञ्चालनमा ल्याउन सकिने अवस्थामा उद्योग रहेको बताइन्छ ।
प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग पर्यटन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालय एउटै भवनमा राखिएको छ । धागो कारखानामा सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राख्ने तयारीमा प्रदेश सरकार लागेको हो । एउटै भवनमा ५ वटा मन्त्रालय राख्न कठिनाई हुने भन्दै मुख्यमन्त्रीको भवनमा रहेका मन्त्रालयहरू पनि उपयुक्त ठाउँ पाए सार्न सक्ने मनस्थितिमा पुगेको बताइन्छ ।
२०४२ सालमा स्थापना भएको धागो उद्योग २०६३ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । जहाँ ४९ प्रतिशत जनताको र ५१ प्रतिशत सरकारको शेयर छ । उद्योग सञ्चालन हुँदा बर्दियामा कपास उत्पादन गर्ने र त्यो कपासलाई बुटवलमा ल्याएर धागो बनाउने गरिन्थ्यो । यहाँ उत्पादित धागोलाई हेटौडामा लगेर कपडा उत्पादन गर्ने गरी स्थापना भएका कपास, धागो र कपडा तीनै उद्योग अहिले बन्द अवस्थामा छन् ।