७ फागुन, काठमाडौं । आगामी फागुन २१ गते संघीय संसद अधिवेशन आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति जारी गरी नेपालको संविधान धारा ९३ को उपधारा १ बमोजिम फागनु २१ गते अपरान्ह ४ बजे संघीय व्यवस्थापिका भवनमा अधिवेशन आह्वान गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति निकालेर सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेको जानकारी दिएको छ ।संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रिय सभा रहेका छन् । दुवै सदनका बैठक अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा रहेको संघीय संसद भवनमा बस्नेछन् ।
निर्वाचन आयोगले गत फागुन २ गते प्रतिनिधिसभाको अन्तिम मतपरिणाम बुझाएर नयाँ सरकार गठन भैसकेको अवस्थामा संसद् अधिवेशन आह्वान भएको हो । आयोगले अन्तिम मतपरिणाम बुझाएको ३० दिनभित्र अधिवेशन बस्नुपर्छ ।
संघीय संसदको पहिलो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन गर्नेछ । यस्तै, संसदमा सरकारले विश्वासको मत समेत हासिल गर्नेछ । फागुन २५ गते नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका रहेको छ । यसैकारण पनि त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको हो ।