रेडियो रिपब्लिक /२१ वैशाख बुटवल ।
उद्योगी ब्यवसायी र बेरोजगारहरुलाई एउटै थलोमा ल्याउने उद्धेश्यका साथ बुटवलमा प्रथम रोजगार मेला(२०७५ सुरु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रको समन्वय र अन्तर्राष्ट्रिय श्रम संगठन [आईएलओ]को आर्थिक सहयोगमा तीन दिने मेला सुरु भएको हो ।
मेलाको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले मेलाको उदघाटन गर्दै स्थान विशेषताको आधारमा योजना बनाउन जरुरी रहेको बताए ।
पर्यटनमैत्री उद्योग र त्यसमा कृषिलाई जोडने गरी नयाँ किसिमका काम अघि बढाउन समेत उनले सुझाव दिए उपमहानगरपालिकाले युवाहरुलाई स्वरोजगार सिर्जना गर्ने विभिन्न पाइलट प्रोग्रामहरुलाई अघि बढाएको बताए ।
महासंघका जिल्ला अध्यक्ष कन्हैयालाल कशौधनले सरकारको दीर्घकालीन योजना नहुँदा उद्योगी ब्यवसायीहरु समस्यामा रहेको गुनासो गरे ।
महासंघका केन्ऽीय सदस्य ज्ञानु पौडेलले लक्षित वर्गमा पुग्ने गरि कार्यक्रम आउनुपर्ने बताइन ।
प्रदेश नं ५ कार्यवाहक अध्यक्ष जीवनाथ पोखरेलले समस्या समाधानका लागि सरकारले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, सिद्धार्थ गौतम बुद्ध क्याम्पसका प्रमुख बाबुराम पाण्डे, राममणी क्याम्पसका प्रमुख मोहन शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, महासंघका वरिष्ठ उपाध्यक्ष धु्रव धिताल, महिला जिल्ला अध्यक्ष मञ्जु भुषाल, सदस्य विष्णु कुमार श्रेष्ठले नया र ब्यवहारिक मेलाको आयोजनासंगै युवाहरुलाई रोजगार दिने र तालिमको समेत ब्यवस्था गर्ने बताए ।
मेलामा पहिलो दिनमा नै युवाहरु रोजगारका लागि आफनो बायोडाटा भर्न शुरु गरेका छन ।
वैशाख २३ गतेसम्म चल्ने मेलामा १ सय ५० वटा उद्योग र आठ सय बढी रोजगारका लागि युवाहरुको सहभागी हुने आयोजकको आकलन छ ।