बैशाख २३ ,काठमाडौँ । संघीय संसदको दोस्रो अधिवेशन आजबाट प्रारम्भ हुने भएको छ । आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपरान्ह चार बजे बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।
आज दुवै संसद् बैठकमा संघीय संसद्को अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाउने र अधिवेशनअघि जारी भएका चारवटा अध्यादेश प्रस्तुत हुने कार्यसूची छ । यस्तै बैठकमा आ–आफ्नो सभासँग सम्बन्धित नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
वैशाख २६ देखि २८ गतेसम्म प्रि–बजेट विनियोजन विधेयकमा छलफल र जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची संसद् सचिवालयले तय गरेको छ । जेठ १५ गते संसद्मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।