रेडियो रिपब्लिक / बैशाख २५ ,बुटवल ।
प्रदेश नम्वर ५को प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।
प्रदेश प्रमुख उमाकान्त झाले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको घोषणा गर्नु भएको प्रदेश सभाका सचिव मान बहादुर बिकले बिज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
पहिलो बैठक तथा अधिवेशन माघ २१ गतेबाट सुरु भएको थियो । यसबिचमा २२ वटा बैठक बसेका छन । अधिवेशनले सभामुख उपसभामुख र ४ वटा संसदीय समिति चयन गरेको छ । चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट समेत सर्व सहमतले पारित गरेको छ । यस्तै कानुन निर्माणका लागि ८ वटा विधेयक प्रदेश सभामा पेश भएका थिए । त्यसमध्ये ५ वटा पारित भएका छन ।
यसअघि आज दिउसो बसेको बैठकले प्रदेश ५ अन्तरगतका गाउसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया बारेमा बनेको विधेयक सर्वसहमतले पारित गरेको छ । यस्तै विधायन समितिले स्थानीय तहका सदस्य तथा पदाधिकारीको सेवा सुविधाबारे बनेको विधेयक संशोधनको प्रतिवेदन प्रस्तुत गरेका छन् । जसमा यसअघि सुविधा नराखीएको स्थानीय तहका वडा सदस्यहरुलाई समेत मासिक ७ हजार सुविधा दिन प्रस्ताव गरिएको थियो । यसैगरी गाउपालिकाका उपाध्यक्षको मासिक सुबिधा २५ हजार बाट बढाएर २७ हजार पुर्याउन र उप महानगरपालिकाका वडा अध्यक्षको मासिक सुबिधा ३० बाट घटाएर २६ बनाउन प्रस्ताव गरेको थियो । आजै प्रदेशसभा सदस्य तथा पधाधिकारीहरुको पारिश्रमिक तथा सुबिधासम्बन्धी विधेयक संैद्धान्तिक छलफल पछि दफाबार छलफल तथा संशोधनका लागि विधायन समितिमा पठाइएको छ । छलफलमा सहभागी सांसदहरुले प्रदेश सभा सदस्यका लागि स्वकीय सचिव र यातायातको व्यवस्था गर्न माग गरेका थिए ।
बैठकमा प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारका मुख्यमन्त्रि, मन्त्रि तथा प्रदेश सभाका पदाधिकारी र सदस्यहरुको मर्यादाक्रम पुर्नबिचार गर्न संघिय सरकारको ध्यानाकर्षण गराउन प्रदेश सरकार र सभामुखसंग आग्रह गरेका थिए ।
बैठकमा मुख्यमन्त्रि शंकर पोखरेलले प्रधानमन्त्रि केपी शर्मा ओलीसंग प्रदेश सरकार र सभाका पदाधिकारी सदस्यहरुको मर्यादाक्रमका सम्वन्धमा औपचारिक र अनौपचारिक दुबै ढंगले करा गरेको र पुर्नबिचारको आश्वासन पाएको जानकारी गराउनु भएको थियो ।