रेडियो रिपब्लिक / बैशाख २६ बुटवल । स्वरोजगार ई– रिक्सा व्यवसायी तथा चालकले बुटवलमा रिक्साको संख्या निर्धारण गर्न माग गरेका छन् । स्थानीय तहलाई संख्या निर्धारण गर्दिन माग गरेका छन् । बुटवलका सडकहरुमा देखिने अस्त व्यवस्ततालाई व्यवस्थापन गर्नका लागि संख्या निर्धारण गरी ई–रिक्सालाई व्यवस्थित गर्नुपर्ने उनीहरुले बताएका छन् । रेसुङ्का ई–रिक्सा तथा टेम्पो यातायात प्रालिले रोड परमिट र अञ्चलीकरण गराउनु पर्ने माग गर्दै आएको छ ।
ई–रिक्सा चालकका लागि बुधबार बुटवलमा आयोजित ट्राफिक प्रशिक्षण कार्यक्रममा बोल्दै रेसुङ्का ई– रिक्सा तथा टेम्पो यातायात प्रालिका अध्यक्ष रवीलाल गौतमले लुम्बिनीमा दर्ता खुलाउनु पर्ने बताएका छन् । बुटवल क्षेत्रमा नारायणी, राप्ती र भेरी अञ्चलमा दर्ता भएका रिक्साहरु रहेको उनले बताए ।
स्थापित र विस्थापितको नाममा रिक्सा व्यवसायी समितिले ई– रिक्सा चालकहरुबाट असुली गरेको ४० लाख रकम फिर्ता हुनुपर्ने प्रालिका कोषाध्यक्ष बागबहादुर बुढाले बताएका छन् । एकजनाबाट ७५ हजारका दरले रिक्सा व्यवसायी समितिले पैसा उठाएर आफुहरुलाई अलपत्र पारेको उनले बताए । स्वरोजगार ई रिक्सा व्यवसायीले सरकारले सिण्डकेट खारेज गरेर राम्रो गरेको बताउंदै स्वरोजगार व्यवसायीका समस्या राज्यको तर्फबाट सम्बोध हुनुपर्ने बताएका छन् । रेसुङ्का ई– रिक्सा तथा टेम्पो यातायात प्रालिमा १९० ई– रिक्सा छन् ।
सोही रिक्सा चालकहरुलाई बुधबार बुटवलमा एक दिने ट्राफिक सम्बन्धी प्रशिक्षण दिईएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक भिमशेन घिमिरे र दुर्गाप्रसाद पोखरेलले प्रशिक्षण दिएका छन् । ट्राफिक नियमलाई पालना गरेर सडकमा सवारीका साधनहरु चलाउन र व्यवहारमा मर्यादित बन्न प्रहरी सहायक निरिक्षक घिमिरेले चालकहरुलाई आग्रह गरेका छन् । प्रालिका अध्यक्ष रबीलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायी नारायणसिंह कुवंर, डम्बरप्रसाद खतिवडा, पत्रकार विश्वास ढकाल लगायतले बोलेका थिए ।