रेडियो रिपब्लिक / बैशाख २६ बुटवल ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा सुशासन सदाचार प्रवद्र्धन गर्न स्थानीय तहका प्रमुख उपप्रमुख र प्रशासकीय अधिकृतहरूलाई भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भूमिका प्रशिक्षण दिएको बुटवलमा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा साविक लुम्बिनी अञ्चल र प्युठान जिल्लाका गाउँपालिका, नगरपालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र जिसस प्रमुख उपप्रमुख सहभागी थिए । कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले स्थानीय तहमा भ्रष्टचार र अनियमितता हुने भन्दै त्यसतर्फ अख्तियारमा निरन्तर निगरानी हुने बताए । नीतिगत भ्रष्टचार बढ्दै गएको भन्दै त्यसतर्फ अख्तियारको चनाखो रहेको जानकारी गराए ।
तर जनप्रतिनिधिहरू बेनामी र इखपूर्ण उजुरीले आफूहरूका विकास योजनामा बाधा परेको भन्दै त्यस्ता उजुरी नलिन अख्तियारलाई सुझाएका थिए ।
गौमुखी गाउँपालिका प्यूठानका विष्णु गिरीले झुट्टा उजुरीले आफूहरू हैरानी परेको बताए । माथागढी गाउँपालिका पाल्पाका सन्तोष थापाले बेनामी उजुरी छिटो फछयौट गर्न अख्तियारलाई आग्रह गरे । बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालले कसैप्रति खराब सोचले दिइएको नामबिहीनको खारेजी गरिनुपर्ने बताए ।
प्रदेश नम्बर पाँचको मुख्यमन्त्री कार्यालयका सचिव शंकरप्रसाद पाठक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायका उपसचिव हरि पौडेल, जनप्रतिनिधिहरुको जवाफ दिँदै जोशीले कसैलाई दुःख दिने नियतले हालिएको भन्ने लागेमा थालिएका कामहरू नरोक्न आग्रह गरे । कार्यक्रममा रूरू गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पन्त, सितगंगा नगरपालिका अर्घाखाँचीका प्रमुख सुर्यप्रसाद अधिकारी, रामपुर नगरपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत बाशुदेव रेग्मी लगायतले बोलेका थिए ।