बैशाख २७,रूपन्देही । नेपाल पर्यटन पत्रकार संघ (एन्जोट) रुपन्देही शाखाले यहाँका विभिन्न संघसंस्थासंग सहकार्य गरेर फोटो प्रदर्शनी गर्ने भएको छ ।
पर्यटनको क्षेत्रमा काम गर्ने यहाँका मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवल उपमहानगरपालिका र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ बुटवलसंगको सहकार्यमा आगामी जेठ ५ र ६ गते बुटवलको मणिमुकुन्द सेन उद्यान परिसरमा फोटो प्रदर्शनी गरिने भएको हो ।
बुधबार बसेको यी संस्थाहरुका अध्यक्ष तथा प्रतिधिनि समेतको बैठकले यस्तो निणर्य गरेको हो । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुईटेल, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ बुटवलका अध्यक्ष समुन्द्र जीसी, नेपाल पर्यटन पत्रकार संघ रुपन्देहीका अध्यक्ष भुवन कार्की, लुम्बिनी विकास कोषका पूर्व सदस्य बलबहादुर आचार्य, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका कार्यालय प्रमुख त्रिविक्रमराज बस्याल, रोमाकान्त पाण्डे, मोहनलाल पाण्डे लगायत सम्मिलित बैठकले प्रदर्शनीको उचित व्यवस्थापनबारे छलफल समेत गर्यो ।
प्रदेश नं. ५ का विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरी आन्तरिक तथा वाह्य पर्यटनको विकासको लागि फोटो प्रदर्शनी गर्न लागिएको मणिमुकुन्द उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुईटेलले जानकारी दिनुभयो ।
उक्त प्रदर्शनीको काठमाडौंस्थित बुद्ध राइडर्स नेपाल नामक संस्थाले मोटरसाईकल र्यालीसहित अवलोकन गर्नेछ । उक्त टोलीले जेठ ४ गते चितवन हुँदै भैरहवासम्मको यात्रा गरी ५ गते बुद्धको जन्मस्थल लुम्बिनी घुमेर बुटवलको प्रदर्शनी अवलोकन गर्ने आयोजकले जनाएका छन् । ५ गते नै पाल्पा पुग्ने उक्त र्याली ६ गते भने पुनः रुपन्देही फर्केर बुटवलमा बास बस्नेछ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आउने उक्त मोटरसाईकल र्यालीसहितको टोलीले रुपन्देहीका अन्य पर्यटकीय स्थलहरुको समेत अवलोकन गर्नेछ । र्यालीमा दर्जनौं आन्तरिक तथा वाह्य पर्यटकहरु सहभागी हुनेछन् ।