बैशाख २८ ,तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको न्यायिक समितिले हालसम्म २९ वटा विवाद (मुद्दा) को निरुपण गरेको छ । न्यायिक समितिमा आएका ५५ उजुरीमध्ये शुक्रबारसम्म २९ वटा विवादको निरुपण गरिएको नगर उप–प्रमुख एवं समिति संयोजक जागेश्वरी चौधरीले जानकारी दिनुभयो ।
संविधानको धारा २१७ मा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उप–प्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति निर्माण गर्ने व्यवस्था छ । न्यायिक समितिमा दर्ता भएका विवादमध्ये दुवै पक्षलाई छलफल गराएर ९ वटा माथिल्लो निकायमा र ७ वटालाई सम्बन्धित वडा कार्यालयमा पठाइएको समितिको सचिवालयले जनाएको छ ।
यस्तै ९ वटा मुद्दाहरु छलफलको क्रममा रहेको र एउटा मुद्दा फिर्ता भएको समिति संयोजक चौधरीले जानकारी दिनुभयो । समितिमा दिनप्रतिदिन मुद्दाको चाप बढ्दै जान थालेको छ । ‘स्थानीय तहमा न्याय सम्पादन हुन्छ भन्ने विषयमा जनतालाई विश्वास छ, त्यसैले पनि मुद्दाको चाप बढ्दै गएको छ’ उप–प्रमुख चौधरीले भन्नुभयो । सानातिना विषयका मुद्दा लिएर अदालतमा जाँदा धेरै पैसा खर्च हुने भएकाले पनि न्यायिक समितिमा मुद्दाको चाप बढ्दै गएको हो । न्यायिक समितिमा खासगरी जग्गाको साँध–सँधियार, अंशबण्डा, घरेलु हिंसा, सम्बन्धविच्छेद, लेनदेन, ठगी, कुटपिटलगायतका मुद्दा बढी आउने गरेका छन् । समितिमा दर्ता भएका उजुरी उपर दुवै पक्षलाई बोलाई छलफल गरी सकेसम्म मेलमिलाप गर्न प्रोत्साहन गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइने उप–प्रमुख चौधरीले बताउनुभयो । न्यायिक समितिलाई आफ्नो क्षेत्राधिकारमा पर्ने विवादको कारवाही र किनारा कानुन बमोजिम र क्षेत्राधिकारबाहेकका मुद्दालाई मेलमिलापको माध्यमबाट मात्र निरुपण गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐनले दिएको छ ।