बैशाख २९ ,बुटवल ।
चार वर्षअघि भारतबाट रुपन्देहीसम्म पेट्रोलियम पदार्थ ढुवानीमा भएको घोटालाका १७ आरोपीलाई विशेष अदालतले दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९८ जनाविरुद्ध दायर गरेको मुद्दामा अदालतले नेपाल आयल निगमका पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका उपनिर्देशक नागेन्द्रकुमार कुर्मीसहित १७ लाई भ्रष्टाचारी ठहर गरेको हो । कुर्मीसहित प्रबन्धकद्वय दीपेन्द्र बस्नेत र रविनकुमार रावतलाई डेढ वर्ष जेल तथा ६ लाख ७० हजार ९ सय १० रुपैयाँ बिगो असुल गर्न अदालतको आदेश छ ।
भारतको बेतालपुरबाट रुपन्देहीको भलवारीस्थित डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्रममा निगमका कर्मचारीकै संलग्नतामा बाटोमै इन्धन चोरी हुने गरेको अनुसन्धानमा भेटिएपछि अख्तियारले २०७१ भदौ ३१ मा मुद्दा दायर गरेको थियो । न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको हिजकोइजलासले फैसला सुनाएको हो।
अदालतले इन्धन कारोबारीहरू सुरेशप्रसाद उमरलाई १ वर्ष जेल र विनोद उप्रेती, विकास क्षेत्री तथा रामचन्द्र अधिकारीलाई ३–३ महिना जेल सजायको फैसला गरेको छ । इन्धन ओसारपसारकै क्रममा बेचबिखन गर्ने १० जना गाडीचालकलाई १५ दिनको जेल सजाय हुने फैसला भएको विशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिनुभयो।