रेडियो रिपब्लिक / जेष्ठ ३ बुटवल ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता आज हुने भएको छ।
एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ। पार्टी एकता भएपछि ४३ सदस्यीय स्थायी समिति र २ सय ४१ सदस्यीय केन्द्रिय समिति बनाउने सहमति पनि गरिएको एमालेले जनाएको छ।
बुधबार अपरान्ह बसेको एमाले स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार पार्टी एकता हुने सहमति गरिएको बताएका छन्।
दुई पार्टीबीच एकता हुनेगरी आज बिहान पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी पार्टी अध्यक्ष ओलीले दिएको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए।
बैठकमा पार्टी एकता आजनै गर्ने अध्यक्ष ओली र दाहालबीचको सहमतिको स्वागत गरिएको छ। पार्टी एकता घोषणा अघि दुवै दलको केन्द्रिय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम छ।
आज (३ जेठ) को कार्यतालिका :
जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा एमालेले बिहान ७ः३० बजे पुरानो पार्टी कार्यालय बल्खुमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख वक्ता प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा महत्वपूर्ण घोषणा गर्नेछन् ।
बिहान १०ः०० बजे स् पार्टी एकता संयोजन समितिबाट एकताको निर्णय :
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ । दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्नेछ । र, दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय गरिनेछ।
११ः०० बजे एमाले केन्द्रीय कमिटी:
१ः०० बजे माओवादी सचिवालय:
पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदनका लागि बिहान ११ बजे एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै माओवादीले दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ । दुवै पार्टीका बैठकले पार्टी विघटन गरी एकीकरणको निर्णय गर्नेछन् ।
दिउँसो ३ः०० बजे स् दुवै पार्टीको संयुक्त बैठक:
दुवै पार्टीले एकता अनुमोदन गरेलगत्तै संयुक्त बैठक बस्ने तयारी छ । दुवै पार्टीका नेताहरू बैठकमा सहभागी हुनेछन् ।
दिउँसो ४ः०० बजे स् निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता:
एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयपछि एकीकरणको निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने तयारी छ ।
साँझ ५ः०० बजे स् पत्रकार सम्मेलन:
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट साँझ राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गरिनेछ ।