जेष्ठ ४ बुटवल । विभिन्न क्षेत्रका विज्ञहरुले जनसहभागितामा आधारित विकास मोडल तयार पारेको भन्दै बुटवलको दीर्घकालिन र आवधिक योजनाको सराहना गरेका छन् । उनीहरुले समृद्धिको पहिलो आधार पनि जनसहभागितामा आधारित विकास भएको भन्दै त्यसैका आधारमा अगागि बढ्न पनि सुझाव दिए ।
बुटवल उपमहानगरले नगरको दीर्घकालीन र आवधिक योजनाका बारेमा शुक्रबार एक समारोह आयोजना गरी सुझाव संकलन गरेको थियो । सोही कार्यक्रममा सहभागी विभिन्न विषयका विज्ञहरु, पूर्व सांसद, राजनीतिक दल तथा नागरिक अगुवाहरुले निजी र सामुदायिक क्षेत्रलाईसमेत समेट्दै र दिशा निर्देश गर्दै स्थानीय सरकारले योजना बनाउन जरुरी रहेकोमा जोड दिए ।
पुनर्निर्माण प्राधिकरणका पूर्व सिइओ सुशिल ज्ञवालीले जनअपेक्षा बढेर गएको र त्यो स्वभाविक पनि रहेको भन्दै दिगो र टिकाउ विकासका लागि जनसहभागिताको मोडल उपयुक्त रहेको बताए । बुटवल उपमहानगरपालिका विज्ञ समूहका संयोजक समेत रहेका ज्ञवालीले अध्यय्नको विज्ञता र अनुभवको श्रेष्ठताका आधारमा योजना बनाउन सुझाव दिए ।
तिनाउ–दानव करिडोरलाई प्राथिकतामा राख्दै जितगढी, रामापिथेकश, मणिमुकुन्द सेनलगायतका कैयौं ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुलाई समृद्धिका आधारका रुपमा विकास गर्न जरुरी रहेको उनले बताए । भौतिक पूर्वाधार, सामाजिक विकास, आर्थिक विकास, वातावरणीय तथा पर्यावरणीय व्यवस्थापन समृद्धिका स्तम्भ रहेको उनको भनाइ थियो ।
ई.डा. खेटराज दाहालले तिनाउ नदीलाई वरदानको रुपमा लिएर समृद्धिको आधार बनाउन जरुरी रहेकोमा जोड दिए । समृद्ध बुटवलका लागि प्रचूर तथा भरपूर सम्भावनाहरु रहेको उल्लेख गर्दै अहिले प्रस्तुत गरिएको खाका उपयुक्त रहेको बताए ।
विज्ञहरु डा.ईश्वर गौतम, डा. राजेन्द्र ओझालगायतले जनसहभागितामा आधारित योजनाहरुमै प्राथमिकताक दिन सुझाव दिनुभयो । तिनाउ–दानव करिडोरलाई प्राथमिकता दिंदै अव्यवस्थित बसोबासीको प्रभावकारी व्यवस्थापन जरुरी रहेकोमा उहाँहरुको जोड थियो ।
शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार, कृषि र वातावरणलाई समृद्धिको आधार मान्दै त्यसैका आधारमा योजनाको खाका बनाइएको नगर प्रमुख शिवराज सुवेदीले बताए । सोही योजनाका सम्बन्धमा नगरका सबै १९ वटै वडाहरुमा स्थानीयको सुझाब संकलन गरिसकिएपछि विज्ञहरुसमक्ष प्रस्तुत गरिएको प्रमुख सुवेदीले बताए ।
अहिले बुटवलको जनशंख्या करिब दुई लाख भन्दा माथि पुगेको छ । ०६८ को जनगणना अनुसार यहाँको जनशंख्या एक लाख ३८ हजार सात सय दुई थियो । २० वर्षपछि यहाँको जनशंख्या पाँच लाख भन्दा माथि पुग्ने अनुमान सहित त्यसलाई थेग्ने खानेपानी, बाटो, स्वास्थ्य संस्था, शैक्षिक संस्था, ढलनाली, खुला मैदान, रंगशाला, सेवाकेन्द्रहरुसमेतका संरचना निर्माणलाई दीर्घकालिन योजनामा समावेश गरेर सुझाव संकलन गरिएको नगर प्रमुख सुवेदीले बताए ।
करिब २६ अर्ब बराबरको बजेटमा बन्ने योजनाहरुका सम्बन्धमा समुदायको सुझाव संकलन गरिएको उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ । समुदायस्तरमा सुझाव संकलनका काम दुई सातादेखि भइरहेको र त्यहाँबाट प्राप्त सुझावसमेतलाई विज्ञ समूहमा राखेर प्रस्तुत गरिएको उनले बताइन ।
शुक्रबारको विज्ञसमूहसहितको छलफलमा पूर्व सांसदहरु देवेन्द्र घिमिरे र रामप्रसाद भट्टराईले योजना बनाउनु अघि समुदायको सुझाव संकलन गरिनु महत्वपूर्ण काम भएको भन्दै सराहना गरे । पूर्व सांसदहरुले बुटवलको पहिचान जोगाउने र पर्यटकीय गन्त्व्य बनाउन जरुरी रहेकोमा जोड दिए ।
सो अवसरमा नेपाली कांग्रेसका नेता युवाराज गिरीले सबैको भावना समेट्ने कोसिस भएको भन्दै यस्लाई निरन्तरता जरुरी रहेको बताए ।
पूर्व उपप्रमुख रामेश्वर श्रेष्ठ, रामप्रसाद खनाल, उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि अर्याल, व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, महिला अगुवा तथा समाजसेवी सावित्रा अर्याल, उपभोक्ता हीत संरक्षण मञ्चका जिल्ला अध्यक्ष नर्बू लामा, साविकको मोतिपुर गाविसका अध्यक्ष शालिकराम अर्याल, पारि बुटवलका अभियन्ता गोविन्दराज शाक्य, पूर्व वडा अध्यक्ष भीम तुलाचनलगायतले योजना अघिको अध्यय्न र सुझाव संकलन सराहनीय काम रहेको बताए ।
बुटवलका प्रत्येक वडाहरुमा रहेका सम्भावना र त्यहाँका समस्याको दीर्घकालिन समाधान हुने गरी योजना अगाडि सारिएको बताउँदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले पहिलोचरण भेला सकेर दोस्रो चरणमा विज्ञहरूसहित छलफल गरिएको बताए ।