जेष्ठ ५, भैरहवा । भन्सार छली र चोरी पैठारीका क्रियाकलाप बढ्दै जाँदा भैरहवा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व असुली नगर्ने देखिएको छ । भैरहवा भन्सारमा विगतदेखि नै कर्मचारी, एजेन्ट र व्यवसायीको मिलेमतोमा पटकपटक गैरभन्सार क्रियाकलाप हुँदै आएका छन् । तर घटनामा संलग्नलाई कारबाहीको सट्टा राजनीतिक संरक्षणमा उन्मुक्ति दिइंदा राजश्व असुलीमा गिरावाट आएको छ ।
डेढ महिना अघि हरियो तरकारीको प्रज्ञापन भरेर भन्सार पास भएको ट्रक चितवनमा प्रहरीले चेकजाँच गर्दा मासु भेटिएपछि नियन्त्रणमा लियो । त्यसको ठिक एकहप्ता पछि बिना प्रज्ञापन भन्सार पास भएको कपडासहितको भ्यान रुपन्देही प्रहरीले पक्राउ गर्यो । यही आइतबार पनि प्रज्ञापन पत्र बिना भन्सार पास भएको दुईवटा ह्यामर राजश्वले पक्राउ गर्यो । यी त पछिल्ला प्रतिनिधिमूलक घटना मात्रै हुन् । पछिल्लो समय भैरहवा भन्सार कार्यालयमा मिलेमतोमा हुने भन्सार छली र चोरीपैठारीले गर्दा राजश्व असुली नै प्रभावित भएको छ ।
अर्थशास्त्री डा.शम्भुप्रसाद गुप्ताले राज्यको अर्थतन्त्रको मेरुदण्ड भनेकै राजश्व भएकाले मिलेमतोमा हुने भन्सार छली रोक्न पहिला राजनीतिक संरक्षणलाई निस्तेज पानुपर्ने बताउँछन् । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले ठूला कार्यालयमा थोरधेर मिलेमतो हुने गरेको स्वीकार्दै गलत क्रियाकलापलाई सच्याउँदै जाने बताए ।
आर्थिक वर्ष सकिन २ महिनामात्रै बाँकी रहँदा राजश्व असुलीमा २० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । चालु आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई ८१ अर्ब ४३ करोड ७७ लाख राजश्व लक्ष्य तोकेको थियो । तर १० महिनामा जम्मा ५६ अर्ब ११ करोड १० लाख मात्रै राजश्व संकलन भएको छ । भन्सारले असोज महिनाबाहेक अन्य कुनै महिनामा पनि राजश्व लक्ष्य पुरा गर्न सकेको छैन ।
चालु आवको साउन महिनामा ५ अर्ब ७० करोड ६ लाख राजश्व लक्ष्य पाएको भन्सारले ५ अर्ब २१ करोड ११ लाख मात्रै राजश्व संकलन गरेको छ । यस्तै भदौमा ६ अर्ब ५१ करोड ५० लाख लक्ष्यमा ६ अर्ब १४ करोड १४ लाख, असोजमा ५ अर्ब ७० करोड लक्ष्यमा ६ अर्ब ४३ करोड, कार्तिकमा ६ अर्ब ५१ करोड ५० लाख लक्ष्य रहेकोमा ५ अर्ब ३० करोड ६१ लाख, मंसिरमा ६ अर्ब ५१ करोड लक्ष्यमा ४ अर्ब ९७ करोड र पुसमा ६ अर्ब ५१ करोड ५० लाख लक्ष्य रहेकोमा ४ अर्ब ९८ करोड २१ लाख राजश्व संकलन गरेको छ ।
यस्तै माघमा ६ अर्ब ५१ करोड लक्ष्यमा ५ अर्ब २६ करोड तथा फागुन, चैत र बैशाखमा समान ७ अर्ब ३२ करोड ९४ लाख लक्ष्य रहेकोमा क्रमशः ५ अर्ब ४५ करोड, ६ अर्ब २२ करोड एवं ६ अर्ब १२ करोड मात्रै राजश्व संकलन भएको छ ।