भक्तपुर, भदौ २४ – अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटार ढल्यापिपल सोमलिङ्गेश्वर मन्दिर नजिकै रहेको ललितजंग थापाको घरमा चितुवाले बच्चा जन्माएपछि सिरुटार क्षेत्र आतंकित भएको छ ।
भूकम्पले माथिल्लो तला भत्किएपछि खाली भएको थापाको घरको दोस्रो तलामा एक साताअघि आएको चितुवाले तीनवटा बच्चा जन्माएर राखेपछि यहाँका बासिन्दा आतंकित भएको स्थानीय प्रदीप कार्कीले जानकारी दिनुभयो । चितुवाले साँझ बिहान घरबाट ओहोरदोहोर गर्न र खेतबारीमा जानसमेत समस्या परेको बताउँदै कार्कीले भन्नुभयो – ‘बिहान घरको आँगनबाटै चितुवा हिँड्छ, दिउँसो बाँसको झाङ र मकैबारीमा चितुवा लुकेर बसेको देखिन्छ, खेतबारीमा काम गर्न र बच्चालाई स्कुल जानसमेत समस्या परिसक्यो ।’
स्थानीय ईश्वर बुढाथोकीले एकसातादेखि त्यस क्षेत्रमा चितुवा देखिन थालेको र पाँच दिनअघि थापाको घरमा चितुवाको बच्चा देखिएको बताउनुभयो । घर वरिपरि नै चितुवा देखिन थालेपछि यहाँको बस्तीमा त्रास फैलिएको उहाँको भनाई थियो ।
स्थानीयवासीले चितुवाका बच्चा देखेपछि प्रहरी र जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले चितुवाले त्यही घरमा आएर बच्चा जन्माएको बताउँदै चितुवाले आतङ्कित पारेको उजुरी स्थानीयबासिन्दाबाट आएको बताउनुभयो ।
जिल्ला वन कार्यालयलाई यसबारे जानकारी गराएको र बच्चासहित चितुवालाई लैजान आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला वन कार्यालय भक्तपुरका निमित्त प्रमुख न्हुछेंकृष्ण श्रेष्ठले चितुवाको तीनवटा बच्चा फेला परे पनि चितुवा आसपासको झाडीमा लुकेर बसेकाले कसरी चितुवा समाउने भन्ने समस्या परेको बताउनुभयो ।
उहाँले शक्रबारैै वन विभाग र सदर चिडियाखाना गएर त्यससँग सम्बन्धित विज्ञलाई लगेर चितुवा समाउने प्रयास गरिने बताउनुभयो ।