१० जेठ काठमाडौ । नेपाल वायु सेवा निगमले ल्याउन लागेका तीनजना चिनियाँ विमान चालकहरूलाई नागरिक उड्डयन प्राधिकरणले अनुमति दिन नमिल्ने बताएपछि निगमका जहाज त्यत्तिकै थन्कने भएका छन ।
चिनियाँ विमान चालकले अनुमति नपाएपछि चीनबाट ल्याएर विगत तीन महिनाभन्दा लामो समयदेखि थन्किएका विमानहरूको उडान अनिश्चित बनेको छ। अब अन्य देशबाट पाइलटको खोजी गरिने निगमले जनाएको छ। तर तत्काल यी विभान नउड्ने निश्चित भएको छ । नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका तीनवटा विमानमा अहिले केही प्राबिधिक समस्याहरू देखिएको बताइए पनि खासगरी पाइलट अभावका कारण तिनीहरू थन्किएको बताइन्छ।
प्राधिकरणले नेपाल वायुसेवा निगमले पठाएका विवरण र चिनियाँ पाइलटहरूको लाइसेन्स अस्वीकृत गरिदिएपछि अन्यौलता झनै बढेको हो । चिनियाँ पाइलटहरूलाई नेपालमा वाइ–१२ विमानहरू उडाउने अनुमति दिन नेपाल वायु सेवा निगमले नागरिक उड्डयन प्राधिकरणमा उनीहरूको विवरण बुझाएको थियो। तर अनुमतिका लागि बुझाइएको निवेदन अस्वीकृत भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए। उनले भने,‘यो विमानहरू चलाउने पाइलटहरू हामीलाई अंग्रेजी बोल्ने चाहिन्छ। त्यो चिनियाँहरू अंग्रेजीहरू बोल्ने फेला पारेको तर उनीहरूको लाइसेन्सको किसिम फरक खालको भयो।
प्राधिकरणले हामीले विवरण पठाएका चिनियाँ पाइलटहरूको लाइसेन्स अस्वीकृत भयो भनेर खबर पठायो। ’उनीहरूलाई अनुमति दिन नमिल्ने प्राधिकरणले बताएसँगै अब श्रीलंकालगायत अन्य मुलुकहरूबाट पनि वाइ–१२ विमान चलाउन जान्ने पाइलटको खोजी गरिने निगमले बताएको छ।एकजना पूर्व पाइलट भने यी विमानहरू खरिद गर्नुअघि नै सरकारले पाइलट लगायत विमानका सामानहरूको सहज उपलब्धतालगायतका विषयलाई ख्याल नगरेकाले यस्ता समस्याहरू देखापरेको बताउँछन्।
सरकारले २०६९ सालमा चीनबाट दुईवटा एम–६० र चारवटा वाइ-१२ ल्याउने निर्णय गरेको थियो। पटकपटक गरी ल्याइएका ती विमानहरूमा पाइलटको अभाव हुने गरेको लामो समयदेखि बताउँदै आएको छ।यसअघि नै चीनबाट ल्याएका यी विमानहरू थन्किएर बसेका बेला अब फेरि वाइड बडि पनि त्यहाँबाट ल्याउन लागेको निगमले जनाएको छ। तर विगतबाट पाठ सिकेर दक्ष पाइलटको उपलब्धता र विमानका सामग्रीहरू पाउन सकिने लगायतका विषयमा ध्यान दिइनुपर्ने जानकारहरू बताउँछन्।