शनिबार, २५ भदौ ।
बुटवल । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले आगामी कात्तिक ३ देखि १४ गतेसम्म बुटवलमा प्रथम तिहार मोहोत्सव गर्ने भएको छ । संगठनको बुटवलमा शनिबार बसेको बैठकले ‘राष्ट्रिय औधोगिक प्रदर्शनी कषि, पर्यटन प्रवद्धन तथा प्रथम तिहार महोत्सव २०७३’ बुटवल मण्डपमा गर्ने निर्णय गरेको हो ।
तिहार महोत्सवको लागि १ सय ५१ सदस्यीय मूल आयोजक समिति तथा ३० सदस्यीय सचिवालय समिति गठन गरिएको मूल आयोजक समितिका संयोजक तथा संगठनका अध्यक्ष खेम श्रीसले जानकारी दिएो । महोत्सवमा स्वदेशी तथा विदेशी गरी करिब ४ सय स्टलहरु सहभागी गराइने श्रीसले बताए ।
तिहार महोत्सवमा महिला तथा पुरुषका छुट्टाछुट्टै कुस्ती प्रतियोगिता गराइने, लोकदोहोरी गीत, नृत्य तथा डीजेको प्रस्तुति समेत रहने बताइएको छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत हुनेछन् । महोत्सवमा उपभोग्यबस्तुको प्रदर्शनी, किनबेच तथा कृषि र पर्यटन प्रवद्धनका कार्यक्रमहरु गरिने बताइएको छ ।
महोत्सवले स्वाधिन अर्थतन्त्रका लागि औधोगिकरण तथा ब्यापार विविधिकरणमा महत्वपूर्ण भूमिका खेल्ने नेपाल राष्ट्रिय उद्योग व्यपार संगठनका केन्द्रीय उपाध्यक्ष मनिषकुमार जोशीले विश्वास व्यक्त गरे ।
संगठनका केन्द्रीय सदस्य खिमनारायण पराजुलीले महोत्सवमा बंगलादेश, पाकिस्तान तथा भारतका ब्यापारी समेत स्टलसहित सहभागी हुने जानकारी दिए । बुटवलमा पहिलो पटक वृहत रुपमा तिहार महोत्सव गरिने भएकाले उलेख्य सहभागिता समेत हुँने पराजुलीले विश्वास ब्यक्त गरे । उनले भने, ‘बुटवलमा पहिलो पटक हामीले तिहार महोत्सव गर्दैछौं, आशा छ सबै क्षेत्रबाट हामीलाई सहयोग प्राप्त हुनेछ ।’
बैठकमा संगठनका वाणिज्य उपाध्यक्ष गाविन्दराज गैरे, महासचिव सिताराम रसाईली, कोषाध्यक्ष कृष्णप्रसाद अर्याल, प्रेस सल्लाहकार भुवन कार्की लगायतले बोल्दै महोत्सव सफल बनाउन विभिन्न सुझाव राखेका थिए ।