गर्मी याममा पानी पनि पर्ने भएका कारण ये मौसममा खाइने खानामा विशेष ख्याल राख्न जरुरी हुन्छ । यस्तो मौसममा डायरिया, एलर्जी, संक्रमणलगायतका समस्या हुने गर्छ ।
सहरमा सबै सिजनमा पाइने फलफूल तथा तरकारी सहजै उपलब्ध हुन्छ । बजारमा बेमौसमी तरकारी पनि प्रशस्त मात्रामा पाइन्छन् । तर, त्यस्ता बेमौसमी तरकारी उब्जनी गर्न भने अनेक विषादी, रासायनिक मल प्रयोग गरिएको हुन्छ । त्यसैले यस्ता तरकारीको प्रयोग गर्दा विशेष सावधानी आपनाउनुपर्छ ।
काउली, रायोको साग, बन्दा आदि बेमौसमी तरकारी हुन् । यस्ता तरकारीको सकभर प्रयोग नगर्दा राम्रो हुन्छ ।
बर्खायाममा काँचो खाद्यपदार्थको त्यति प्रयोग गर्नुहुँदैन । किनकि, यस्ता फलफूल वा खाद्यपदार्थमा पोटासियम प्रयोग गरिएको हुन्छ । खानैपरेमा राम्रोसँग पखालेर मात्र प्रयोग गर्नुपर्छ ।
बर्खायाममा बाहिर पकाएको खानालाई पनि निरुत्साहित नै गर्नुपर्छ । रोडमा राखेका खाद्यपदार्थ चटपटे, पानीपुरीलगायत पनि प्रयोग गर्नुहुँदैन । यस्ता खाद्यपदार्थले फुड पोइजनिङ र डायरिया गराउने सम्भावना अत्यधिक हुन्छ ।
यो मौसममा बढी भटमास, गेडागुडी खानु पनि स्वस्थकर मानिँदैन । यस्ता खाद्यपदार्थ अपच हुने सम्भावना अत्यधिक हुन्छ ।
मानिसले अत्यधिक रूपमा गोलभेँडाको प्रयोग गरेको पाइन्छ । यो बाह्रै महिना पाइने तरकारी पनि हो । तर, यसमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिएको हुन्छ । यसको प्रयोगलाई पनि घटाउँदा राम्रो हुन्छ ।
अहिलेको मौसममा सिमी, बोडी, फर्सी, कटहरलगायतका तरकारी उपलब्ध हुन्छन् । यस्ता तरकारीको प्रयोग लाभदायक हुन्छ । यस्ता तरकारीले खाद्य सन्तुलन मिलाउनका साथै मिनरल्स पनि प्रदान गर्छ ।
बाटोमा राखेका अंगुर, आरुबखडा, काफल पनि अत्यन्तै असुरक्षित मानिन्छ । एक त यस्ता खाद्यपदार्थ प्रदूषित हुन्छन्, अर्को ब्याक्टेरिया पनि टाँसिएका हुन्छन् । यस्ता फल खाँदैनखानु उत्तम हुन्छ ।