२०७५ श्रावण ९ बुधबार
काठमाण्डौ ।
राष्ट्रियसभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यहरू उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
कांग्रेसका सांसद बद्री पाण्डेले सरकारले प्राडा गोविन्द केसीसँग वार्ताका लागि गरेको प्रयासलाई सकारात्मक रुपमा लिएको उल्लेख गर्दै वार्तामा टुङ्गोमा पुर्याउन माग गर्नुभयो।
उहाले डा केसी जुम्लामा अनशन रहँदाको अवस्थामा भएको जुम्ला घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन आउनुपर्ने र नेपाली चेलीहरुको अस्मितामा आँच पुग्ने गरी बोलेको भन्दै व्यवसायी दुर्गा प्रसाईंलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि माग गर्नुभयो ।
अवरोधका बीचमा उठेर सांसद रामनारायण विडारीले कुन नियम र के आधारमा प्रतिपक्ष दलका सांसदहरुले सदन अवरुद्ध गरेका हुन् भन्दै कारण खुलाउन माग गर्नुभयो ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रियसभा बैठकमा समयमै उपस्थित हुन रुलिङ गर्नुभएको थियो । तर प्रतिपक्षको अवरोधका कारण बैठक चल्न नसके पनि राष्ट्रियसभाका विषयत समितिमा सदस्यहरुको मनोनयन गर्ने विषयलाई कार्यसूचीबाट हटाइएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १६ गते बुधबार ११ बजे बस्ने तय भएको छ ।