रेडियो रिपब्लिक /श्रावण १५ ,बुटवल ।
नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।
वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको ज्योतिष डाक्टर सुनील सिटौलाले बताउनुहुन्छ । शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ। चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ ।
खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्छ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ ।