ज्यो.चक्रपाणी डुम्रे ( शास्त्री) नेपालीहरूको दोस्रो महान चाड तिहार कार्तिक कृष्णत्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया- सम्म जम्मा पाँच दिन मनाइन्छ ।पौराणिक कथन अनुसार सूर्यकी पुत्री यमुनाले आफ्नो दाजु यमराजलाई कार्तिक कृष्ण पक्षको त्रयोदशीदेखी शुक्ल पक्षको द्वितीया सम्म घरमा राखी विभिन्न कन्दमुल फलफूल खुवाएर प्रसन्न पारी आफ्नो मनोकामना पुरा गरेको संस्मरण स्वरूप पाँच दिन सम्म यो चाड मनाइदै आएको भन्ने भनाइ छ।पाँचै दिन यमराजको पूजा गरिने भएकाले यमपञ्चक भनिएको हो।यि पाँच दिनमा कागपूजा,कुकुरपूजा,गाईपूजा,गोबर्द्धनपूजा र भाई पूजा गरी रमाइलो सङ्ग तिहार मनाइने गरिन्छ ।
पहिलो दिन : यमपञ्चककाे पहिलो दिनलाई काग तिहार भनिन्छ। पशुपंक्षीलाई पनि श्रद्धा गर्ने धार्मिक मान्यता अनुरुप काग तिहारको प्रचलन चलेको हो । काग अत्यन्तै चलाखी प्राणी हो । कागलाई यमराजको दूत र सन्देस वाहकको रुपमा मानिन्छ। यसले मानिसको उमेर सकिएको खबर यमरजकहाँ चाडै पुर्याउन नसकोस भनेर कागलाई घरघरमा मीठो मीठो खानेकुरा काक बलिका रुपमा दिई खुसी पारिन्छ । कागले वातावरणका फोहोर खाएर सफा राख्न सहयोग पुर्याउछ । कागले अन्नबालीमा लान्ने किरा फटयांग्रा पनि खान्छ । त्यसैगरी यस दिन साझ मूल द्वारमा यमदीप बाल्नाले मृत्युदेव पनि खुसी हुन्छन् र अल्पायुमा मृत्यु हुदैन भन्ने विश्वास रहेको छ ।
दोस्रो दिन : द्रोस्रो दिनलाई कुकुर तिहार अर्थात् नरकचतुर्दशी पनि भनिन्छ ।यो दिन नरकका राजा यमराजको दूत मानिने इमानदार प्राणी कुकुरको पूजा गरिन्छ।यो अन्यन्तै गुणवान र विश्वासी प्राणी मात्र नभई, घरमा चोरी डकैती हुन बाट बचाउने ,बाटो देखाउने, चोर पत्ता लगाउने आदि गुणहरू भएको प्राणी हो ।यस दिन कुकुरलाई माला लगाई मीठा मीठा खानेकुरा दिई यमदूत कुकुरको पूजा गरि यमराजको सम्मान गरिन्छ ।त्यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। त्यसैगरी यस दिन सबै पाप नाश गर्न तथा नरकलाई प्रसन्न पार्न नर्के नुहाइन्छ। नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो तापिन्छ। यसो गर्दा नरकमा जानु पर्दैन भन्ने मान्यता छ। यस दिनमा लक्ष्मीले तेलमा निवास गर्छिन ।त्यस दिन शरीरमा तेल लगाउनाले वर्ष भरी धनको कमि हुदैन भन्ने मान्यता छ ।
तेस्रो दिन: त्यसैगरी तेस्रो दिन औंशीको दिन हो । जसलाई गाई तिहार भनिन्छ। यसदिन लक्ष्मीको प्रतीकका रुपमा गाईको पूजा गरिन्छ।। गाईलाई मानिसको दोस्रो माता मानिन्छ। गाईको दूध अत्यन्त पौष्टिक हुन्छ। बिरामीका लागि पनि उपयुक्त गाईको दूधबाट बन्ने दही, घिउ आदि पनि उत्तिकै पौष्टिक हुन्छन्। गाईको गहुँत तथा गोबर पनि उत्तिकै पवित्र मानिन्छ। शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दूध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइन्छ। पञ्चामृतमा पनि मह तथा सख्खरका अतिरिक्त अरू तीन चीज गाईकै दूध, दही तथा घिउ मिसाइन्छ। गाईको मलले माटोको र्ऊवरा शक्ति बढाउँछ त्यसैले पनि कृषकहरू गाई पाल्छन्। हिन्दू जीवन पद्धतिमा गाईको अभावमा दैनिक कार्यहरू चलाउन सकिँदैन। यसरी हरतरहले फाइदा दिने गाईप्रति कृतज्ञता ज्ञापन गर्न यो दिन गाईको पूजा गरिन्छ।गाई नेपालीको राष्ट्रिय जनावर पनि हुन् ।आयुर्वेदिक शास्त्र अनुसार गोमूत्र र गाईको दुधघ्यू बाट अनेकौं औषधि बनाउन सकिन्छ ।गाईलाई सिङ र खुरमा तेल लगाई जिउभरी चामलको पिठोको छाप लगाएर सिंगारिन्छ र निधारमा टीका घाटीमा माला लगाई मीठा मीठा अन्न एवं घास खान दिईन्छ।रात्रीमा धन दौलतकी देवी लक्ष्मीको पूजाआजा गरिने भएकाले लक्ष्मी पूजा पनि भनिन्छ ।लक्ष्मीविनाको मानव जीवन कल्पना सम्म पनि गर्न सकिदैन ।धनकी अधिष्ठात्री र माता लक्ष्मीले पूर्ण ऐश्वर्य र आन्तरिक समृद्धि प्रधान गर्दछिन्। यस दिन हरेक घरघरमा झिलिमिली वत्ती बाली घरलाई सिंगारिएको हुन्छ। लक्ष्मी आउछिन् भनेर मूल ढुकुटी बाट गेट सम्म लक्ष्मीका पाइला बनाउने र साँझमा लक्ष्मीको पूजा गरिन्छ ।समूहमा जम्मा भएर देउसी भैलो खेल्ने पनि गरिन्छ ।
चौथो दिन: चौथो दिनलाई गोरूपूजा ,गोबर्द्धन पूजा भनिन्छ ।धर्मिक मान्यता अनुसार इन्द्रले पानी पारेर हाहाकार पारेको अवस्थामा भगवान श्रीकृष्णले कान्छी औलाले गोवर्द्धन पर्वतलाई उचालेर गोपाल जाति ग्वालाअरूको संरक्षण गरेका थिए ।यसैको स्मरणमा गोवर्द्धन पर्वतलाई पूजा गरिन्छ ।वर्षभर हलो र गाडा तानेर उपकार गर्ने गोरूलाई सिंगारेर पूजा गरिन्छ ।गोबरको थुप्रोलाई पर्वतबनाई पूजा गरिन्छ। यस दिन नेवारी समुदायमा म्हपूजा पनि गरिन्छ ।आफ्नो शरीर वा आत्माको पूजा गरि मीठा मीठा परिकार बनाई खाने परम्परा छ। यो दिन मान्छेले आफैंलाई सम्मान गर्ने र आत्मा सन्तुष्ट गरि आत्मा को पूजा गर्दछ्न।यसै दिनलाई नेपाल संवतको आरम्भ दिन पनि मानिन्छ । नेवाहरूको नयाँ वर्ष पनि हो। ने. सं.को प्रारम्भ इ. सं.८८० बाट सुरु भएको हो। अहिले ने. सं. ११३९ सुरु हुदैछ ।नेवार हरूको सम्पुर्ण चाडपर्वहरु नेपाल संवतको पात्रोअनुसार नै मनाइन्छ ।