बुटवल ।
रुपन्देहीमा सम्पन्न पहिलो स्मृति अन्तर विद्यालय नकआउट प्रतियोगिताको उपाधि स्मृति बोर्डिङ्ग स्कुलले हात पारेको छ । आज शनिबार एन्फा एकेडेमीको खेलमैदानमा भएको फाईनल खेलमा स्मृतिले स्कलर्स होम स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै स्मृतिले नगद ५० हजार एक सय एघार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेतामा चित्त बुझाएको स्कलर्स होम नगद २५ हजार, एक सय एघार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
प्रतियोगितामा स्मृतिका निशान न्यौपाने सर्वोत्कृट खेलाडी तथा सर्वाधिक गोलकर्ता, स्मृतिकै सोहन राना उत्कृष्ट गोलकिपर, सजित केसी उत्कृष्ट मिडफिल्डर, स्मृतिकै पुकार गहतराज उत्कृष्ट प्रशिक्षक तथा राईजिङ्ग प्लेयर सरोज दर्लामी स्कलर्सका देव दलार्मी उत्कृष्ट रक्षकबाट पुरस्कृत भएका छन् ।
स्मृति स्पोर्ट्स क्लबको आयोजना र एन्फा एकेडेमीको सहआयोजनामा भएको निक्कै प्रतिस्प्रधात्मक खेलमा जितका लागि दुबै खोल क्याप्टेन निशान न्यौपानेले गरे । उनले खेलको १८ औ र ४४ औ मिनेटमा गोल गर्न सफल भएका थिए ।
एक कार्यक्रमका बिच ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल बहादुर मल्ल, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष भुपेन्द्र क्षेत्री हरि, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवाली, स्मृति क्लवका प्रमुख संरक्षक विष्णु ढकाल, फोर नेशन ईन्टरनेशनलका विष्णु भण्डारी, क्लवका उपाध्यक्ष उद्धव देवकोटाले विजेता तथा उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
मंसिर १५ देखि शुरु भएको प्रतियोगितामा उपाधिका लागि जिल्लाका २९ नीजी तथा सरकारी विद्यालयहरुले प्रतिस्पर्धागरेका थिए । विद्यालयस्तरमा खेलाडी उत्पादनमा प्रतियोगिता सहयोगि हुने लक्ष्यसहित निजि क्षेत्रबाट यस क्षेत्रमा नै ठूलो राशिको प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष महेश खनालले बताउनुभयो ।