बैशाख २९, २०७६ काठमाडौं : नेपाल र भियतनामबीच १६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
लामो समय युद्धबाट गुज्रिएका दुवै देशबीच कुटनीतिक राहदानीबाहकलाई यात्रका क्रममा भिसा नचाहिने सहमति भएको छ।
यो सहमतिपछि दुई देशबीच कुटनीतिक सम्बन्ध अझ मजबुत बनाउन सहयोग मिल्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलाई त्यहाँका समकक्षीको निवासमा शनिबार स्वागत गरिएको थियो । त्यहीक्रममा ओलीलाई त्यहाँका प्रधानमन्त्री न्युग्यन सुआन फुकले स्वागत गरेका थिए ।
दुई नेताबीचको भेटवार्तापछि दुवै देशले १६ बुँदे संयुक्त वक्तब्य निकालेका छन्। जसमा कुटनीतिक रहादानीबहाकलाई भिसाबिना यात्रा, भियतनामले नेपालको कृषि क्षेत्रमा सघाउनेसहितका समझदारीमा हस्ताक्षर भएको हो । यो सहमति दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा दुई परराष्ट्र मन्त्रीबीच भएको हो।
उनीहरुबीच व्यापार र लगानीबारेमा पनि समझदारी भएको छ । भेटका क्रममा दुई देशबीच भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको वातावरण बनाउन पनि सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भियतनामले नेपालमा उत्पादित सामानलाई आफ्नो बजारमा ल्याउने पनि सहमति जनाएको छ। नेपालले भियतनामको लगानी नेपालको उत्पादन क्षेत्रमा लगाउन प्रोत्साहित गर्ने पनि सहमति गरेको छ । दुई देशले ब्यापार तथा लगानी सम्झौता निकट भविष्यमा गर्ने समझदारी गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको भ्रमणका क्रमममा नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्सबीच सन् २०१८ मा भएको सम्झौतालाई नवीकरण गर्ने अर्को सहमति भएको छ।
संयुक्त वक्तव्यको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् त्यसैगरी बुद्धको जन्मस्थल नेपाल र ठुलो संख्यामा बुद्धका अनुयायी रहेको भियतनाबीच दुवै देशका पर्यटकलाई भ्रमणमा प्रेरित गर्ने समझदारी पनि भएको छ। त्यस्तै दुवै देशका राजनीतिक दल, सरकारका प्रतिनिधि र नागरिकलाई मैत्रीपूर्ण भ्रमण गराउने सहमति त्यसक्रमा भएको छ। भियतनामको आन्तरिक सुरक्षा मन्त्रालय र नेपालको गृहमन्त्रालयबीच फौजदारी कानुनको कार्यान्वयन र अपराध नियन्त्रणमा सहकार्य बढाउन चाँडै सम्झौता गर्ने सहमति पनि गरिएको छ।
समझारीमै विदेशमन्त्रीस्तरीय परामर्श संयन्त्र बनाउने, क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा समान धारणाका लागि द्विपक्षीय छलफल थाल्ने सहमति दुवै देशबीच भएको छ। यो भेटवार्ताका क्रममा भियतनामका प्रधानमन्त्री ग्युगन सुआन फुकले अबको २ वर्षभित्र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य बन्ने तयारीमा रहेको जानकारी दिँदै त्यसमा सहयोगको अपेक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।भेटका क्रममा प्रम ओलीले सहयोग हुने बताएका थिए । उनले भियतनामी समकक्षीलाई नेपाल भ्रमणको निम्ता पनि दिएका छन्।
प्रधानमन्त्री ओलीको ४० सदस्यीय टोली युद्धबाट लामो समय गुज्रेका दुवै देश कम्बोडिया र भियतनामको भ्रमणमा गत बिहीबार निस्केका हुन्। भ्रमणकै क्रममा उनले आजै भिसाकमा हुने संयुक्त राष्ट्रसंघीय दिवस कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।