साउन २१ ,२०७६ ।
रेडियो रिपब्लिक ,बुटवल –
भारतको राजधानी दिल्लीस्थित एक होटलमा ३ महिनादेखि बन्धक बनाईएकी नेपाली महिलाको सकुशल उद्धार गरिएको छ ।
विदेश पठाउने बहानामा दिल्ली पुर्याईएकी महिलाको आफन्त नेपाल संस्थाले पहाडगंजस्थित एक होटलबाट उद्धार गरेको हो ।
मेडिकल चेकजाँचपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरि महिलालाई अहिले सुरक्षीत आवास गृहमा राखिएको छ ।
काठमाडौ बस्दै आएकी झापाको बाह्रदर्शी गाँउपालिका वडा न ५ स्थायी घर भएकी ४० वर्षीया महिलालाई बुटवल स्थायी घर बताउने नाम नखुलेका एक व्यक्तिले विदेश पठाइदिने भन्दै जोगबनी नाका हुँदै दिल्ली पुर्याएका थिए ।
यद्धपी उनले नाका कटाउन सहयोग गरे पनि दिल्लीसम्म भने गिरोहकै अन्य व्यक्तिले पुर्याएका थिए । पीडित महिलाले दलालले विदेश पठाउन भन्दै दिल्ली लिएर आएको र कारणवश कयौं दिनसम्म पनि पठाउन नसकेपछि उल्टै पैसाको माग गर्दै होटलमा बन्धकझै राखेको बयान दिएकी छिन ।
पीडित महिलाका पतिले आफन्त नेपालको झापा शाखामा उद्धारका लागि गरेको आग्रह अनुसार उनलाई छुटाईएको हो ।
पीडित महिलाका पतिका अनुसार दलालले होटलमा पुर्याएर छोडेपछि होटल संचालकले आफुसँग ज्ञ देखि डेढ लाख भारु रुपैया माग गरेको बताएका छन ।
दिल्ली पुलिसको सहयोगमा शनिबार साँझ ६ बजेबाट थालिएको अभियान राति ३ बजे मात्रै सकिएको आफन्त नेपालका दिल्ली प्रतिनिधि नविन जोशीले जानकारी दिनुभयो । उद्धार गरिए पछि अहिले महिलालाई दिल्लीको एक महिला आश्रममा राखेर कानूनि प्रक्रिया शुरु गरिएको जोशीले बताउनुभयो । उनलाई कानूनि कारवाही पुरा गरेपछि नेपाल फिर्ता पठाउने बताइएको छ ।