२३ असोज ,बुटवल
आज महा-अष्टमी अर्थात नवरात्रिको आठौं दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पुजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि मन्दिरमा विशेष घुँईचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ ।