बुटवल मङ्सिर १६ । सरकारले मंगलबार दर्ता गरेको संविधान संशोधनको सात बुँदे प्रस्तावको विरोध गर्दै नेविसंघको ५ नम्बर प्रदेश कार्यसमितिले विरोध प्रदर्शन गरेका छन् ।
नेविसंघको केन्द्रीय सदस्य समेत रहेका टंक पाण्डेको नेतृत्वमा बुटवलमा सो प्रदर्शन भएको हो । सरकारले ५ प्रदेश टुक्र्याउने प्रस्तावको विरोध गर्दै आज बिहानदेखि नै नेविसंघले विरोध प्रदर्शन गरेको हो ।
संविधान संशोधन प्रस्तावको विरुद्ध बुटवललगायत रुपन्देहीका विभिन्न ठाउँमा आज पनि बन्द तथा प्रदर्शन भएको छ । बिहानैदेखि भएको बन्दका कारण बुटवललगायत रुपन्देहीको जनजीवन प्रभावित भएको छ ।
बुटवलको राजमार्ग चौराह, मिलनचोक बसपार्क, पुष्पलाल पार्कलगायतका क्षेत्रमा विद्यार्थी, व्यवसायी, नागरिक अगुवादेखि सर्वसाधारण स्वतस्फूर्तरुपमा सडकमा उत्रिएका छन् भने केन्द्रमा सीमांकन संशोधनमा सहमत देखिएका सबै दलका कार्यकर्तासमेत विरोधमा उत्रिएका छन् ।
बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधन ठप्प छन् । बन्दकर्ताको अवरोधका कारण भित्री सडकमा समेत सवारीसाधन चलेका छैनन् ।
बजार, पसल, औद्योगिक प्रतिष्ठान, शिक्षणसंस्था सबै बन्द छन् । सडकमा नाराजुलुससहित टायर बालिएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका युवाले प्रदर्शनमा ५ नं प्रदेश टुत्र्mयाउन पाइँदैन भन्दै नारा लगाएका छन् ।