वाँदर आतंकका कारण गुल्मी जिल्लाका अधिकांस ग्रामिण क्षेत्रका किसानहरुले यतिवेला थप सास्ती खेप्नु परेको छ । ग्रामिण क्षेत्रमा वाँदरले किसानहरुले लगाएका केराऊ, आलु तथा अन्य खाद्यान्न तथा फलफुल बालीहरु खाईदिने गरेका कारण स्थानीयहरु बादरवाट थप आतंकित बनेका छन् ।
ग्रामिण क्षेत्रमा यतिवेला किसानहरुका खेत र बारीमा प्रसस्त मात्रमा केराऊ र आलु देखि घरको बराण्डामा झुण्डाईएका सुकेका मकैदेखि घरवरिपरि रहेका फलफुलहरुसम्म बादरले खाईदिने र नोक्सान गरेर छाडिदिने भएका कारण किसानहरु दिनभर घरमा आएको बाँदर धपाउनमै व्यस्त हुन थालेका छन् । बिहान फुर्रर उज्यालो हुँनासाथ बादर आफ्नो बथान सहित घर वरिपरिको खेतबारीमा पस्ने र मौका छोपेर घर भित्र छिर्ने भएका कारण बाँदर भगाउन मुस्किल पर्ने गरेको किसानहरुको गुनासो छ ।
‘केराऊले भर्खर फुलखेल्न थालेको हुन्छ, बादरले उखेलीदिएर सोत्तर बनाई दिन्छ, आलु पनि भर्खर दाना राख्न पाएको हुँदैन उखेली दिएर खान्छ र फालिदिन्छ, यसो धपाएर केही पर लग्यो घर नपुग्दै फेरी फर्केर आउँछ, हैरानै पार्छ’ मुसिकोट गाविस निवासी हरिकला नेपाली भन्नु हुन्छ ।
मुसिकोटकी नेपाली मात्र हैन आजभोली गाउँघरमा आयोजना हुने सार्वजनिक सुनुवाई जस्ता कार्यक्रममा पनि त्यहाँ स्थानीयहरुले जिल्ला वन कार्यालयका प्रमुखसँग आफुहरु बाँदर आतंकवाट साह्रै नै पीडित भएको गुनासो गरिरहेका हुन्छन् । ‘यो वादरले हामीलाई साहै्र सतायो लौन हाकिमसाव कसरी हुन्छ यसलाई धपाउने वातावरण बनाईदिनु पर्यो, घरवरिपरिका फलफुल समेत जोगाउन गाह्रो भयो,’ जोहाङ्गका स्थानीय विष्णु भण्डारीले भन्नु भयो ।
विगत केही वर्ष अघिसम्म मानिसहरुले बाँदरलाई तर्साउनकालागि भरुवा वन्दुक पट्काउने भएका कारण बाँदर मानिसहरुको वस्ती वरिपरि आउन डराउथ्यो । तर आजभोली जिल्ला प्रशासनले ती सवै हतियारहरु बुझाउन लगाएपछि गाउँमा वाँदरहरुलाई तर्साउने साधन नभएका कारण पनि यसरी बाँदर आतंक बढेको स्थानीयहरुको ठम्याई छ ।
जिल्ला वन कार्यालय गुल्मीका प्रमुख विशाल घिमिरेले वाँदरहरु गाउँतिर झर्नुको मुख्य कारण जंगलमा पानीका मुहानहरु नहुँनु र सडक निर्माण गर्ने क्रममा पिपल, स्वामी, पाँकुरि, बर जस्ता बाँदरलाई भुलाउनका लागि सजिलो हुने रुखहरु मासिएका कारण बाँदरहरु वस्तीहरुतिर केन्द्रित हुन थालेको बताउनु भयो । ‘जंगलमा रहेका पानीका मूलहरु सवै थुनेर गाउँतिर लैजाने गरेका कारण जंगलमा उनीहरुलाई पीउनकालागि पानी नहुने भएका कारण पनि पानीको खोजीमा उनीहरु वस्तीतिर झर्ने गरेका हुन्’ घिमिरेले भन्नु भयो ।
उहाँले बाँदर भगाउनका लागि मलासेस नामक वनस्पतीको घाँस खेतवारीमा लगाउने हो भने बाँदरले यसरी सताउन नसक्ने सुझाव दिनु भएको छ । उक्त घाँसको फुल बाँदरको शरिरमा टासिने र टासिँई सकेपछि चिलाउने भएका कारण बाँदर तर्सिने उहाँले दावि गर्नु भयो ।