भैरव’ बाट निर्देशकसमेत बनेका अभिनेता निखिल उप्रेतीले दोस्रो निर्देशकीय फिल्मको घोषणा गरेका छन्। ‘कमिटमेन्ट सिक्स्टी आवर्स’ नाम दिइएको फिल्मका निर्मातासमेत उनै रहनेछन्।
आफैं मुख्य भूमिकामा देखिन लागेका निखिलले फिल्ममा बलिउडका कलाकारलेसमेत अभिनय गर्ने बताएका छन्।
शनिबार फिल्म निर्माणको घोषणा गर्दै उनले वेलकम ब्याक, हाउसफुल २, बम्बे टु गोवा, सावनलगायत सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका रञ्जित, अमिताभ बच्चनसँग वजिरमा देखिएका सायजी शिन्दे, राउडी राथौड, लाल सलाम, सरकारलगायतका फिल्ममा काम गरेका अनन्त जोग, अली जफर ९टिपु सुल्तान० र नेन्सीले अभिनय गर्ने बताए। साथै विजय लामा पनि मुख्य भूमिकामा देखिने उनको भनाइ छ।
फिल्मका अधिकांश दृश्य मुम्बईमा खिचिने निखिलले बताए। त्यसका अलावा भारतको उत्तर प्रदेश, बिहार, मध्यप्रदेश, काठमाडौं, सिमाना, थाइल्याण्ड, सिंगापुर र अमेरिकामा छायांकन हुनेछ।
मुम्बईमा अलपत्र परेकी एक युवतीको उद्धार गर्दै गाडीकै माध्यमबाट भारतीय नाका कटाएर नेपाल फर्काउने कथा नै फिल्मको मुख्य विषयवस्तु रहने निखिलले बताए। फिल्ममा ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा प्रयोग हुने निखिलको भनाइ छ। ‘हिन्दी भाषा प्रयोग हुँदा हिन्दी फिल्म भनेर दर्शकमा भ्रम पर्ला’, निखिलले भने, ‘कमिटमेन्ट विशुद्ध नेपाली फिल्म बन्नेछ, पछिल्लो पुस्ताका दर्शकको चाहनालाई मध्यनजर गरेर राम्रो फिल्म बनाउन हामी प्रयास गर्नेछौं।’
फिल्मका लागि निखिल आफैंले द्वन्द्व निर्देशन पनि गर्ने बताए। आउँदो महिनादेखि सुटिङ सुरु हुनेछ। सौरभ लामाले खिच्ने फिल्ममा डा। कृष्णहरी बरालका गीत समावेश हुनेछन्। संगीत भने एड्रियन प्रधानको रहनेछ। चार गीत समावेश हुने भनिएको फिल्मको एक गीतमा भारतीय संगीतकारले दिएको संगीत समावेश गर्ने बताइएको छ।