भाद्र २०, २०७४-कक्षा ३ मा पढाइने सामान्य ज्ञानको किताबमा सहिदको सूचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्बिर हुनुपर्नेमा वर्तमान न्याय, कानुन तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्बिर राखिएको छ ।
काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को मास्टरमाइन्ड जेनरल नलेज एन्ड आइक्यु टेस्ट (सामान्य ज्ञान) किताबको पृष्ठमा ११ मा मन्त्री थापाको नाम र तस्बिर राखिएको छ । किताबको अभ्यास नम्बर १० मा ‘हाम्रा सहिदहरू’ शीर्षकमा विभिन्न सहिदको तस्बिर राखेर विद्यार्थीलाई उक्त तस्बिर चिनेर नाम लेख्न भनिएको छ । सूचीको ९ नम्बरमा मन्त्री थापाको ढाका टोपी र गलबन्दी लगाइएको तस्बिर छ । पानाको अन्तिममा उत्तरस्वरूप सहिदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, लखन थापा, रामनाथ दाहाल, थिरबम मल्ल, भीमदत्त पन्त र यज्ञबहादुर थापाको नाम राखिएको छ । ओखलढुंगाका सहिद क्याप्टेन यज्ञबहादुर थापाको नाम र तस्बिर राख्न खोजिएको भए पनि प्रकाशकको असावधानीका कारण कास्की गृहजिल्ला भएका मन्त्री थापाको नाम र तस्बिर पुस्तकमा समावेश भएको हो । किताबका लेखक सुरेशचन्द्र राई र एकराज कटवाल हुन् । किताबको संशोधन मेघविलास भट्ट र होमनाथ आचार्यले गरेका छन् ।
कान्तिपुर अनलाईन बाट